भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

२० जेठ, काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको भारतीय दूतावासको भनाइ छ । ‘दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवं अध्ययन गर्न निर्देशन पनि दिए’ दूताबासले विज्ञप्तिमा भनेको छ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.