छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उदेश्य सहित सम्पन्न भएको कार्यक्रममा दलित र गैरदलित समुदायका व्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने हुदाँ व्यवहारिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाईलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो गरिन् । राज्य सत्ता व्यवहारिक रुपमा दलितको न्यायका लागि सकरात्मक बन्न नसक्दा जातकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको रसाईलीले बताईन् ।

नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रमुख अर्जुन ज्ञवालीले दलित रक्तदान कार्यक्रमले दलित आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘दलित समुदायको रगत जुनसुकै वर्ग समुदायका मानिसमा बगिरहेको हुन्छ ।’ उनले भने, ‘फेरी किन यो र त्यो बहानामा विभेद गर्नु ? रगत चलिसक्यो पानीमा किन अल्झने ?’

भरत लामगादेको संयोजकत्वमा भएको कार्यक्रममा प्रकाश विक, जौमाया बराल सुनार लगायतका वक्ताहरुले विभेदका लागी सवैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमा रक्तदान गर्ने अधिकांश गैरदलित समुदायका रक्तदाताहरुले विभेद उन्मूलनको अभियानमा हातेमालो गर्न सहभागि भएको प्रतिक्रिया दिएका थिए ।

नेपालमा रहेको दलित समुदायले प्रत्येक जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विशेष कार्यक्रम सहित मनाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.