गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

गुल्मी- गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीर बहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा अंगालेको बताए । जिल्लास्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा खरिद गरेर किसानलाई बितरण गरेपनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका छन् । जसका कारण गुल्मीमा भएका नर्सरीका बिरुवा बितरण हुन सकेका छैनन् । कार्कीको नर्सरीमा सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अंगुर र तरकारीजन्य सबै बिरुवाहरु पाइन्छन् ।

बिरुवाबाट वार्षिक ७ देखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यसवर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन् । कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार ७ हजार, कुरिलो ५ हजार, धुपी ३ हजार र अन्य बिरुवा एक हजार भन्दा माथिका दरले रहेका छन् । कार्कीले सुन्तला प्रति बिरुवा २३, कागती प्रति बिरुवा २५, टिमुर प्रति बिरुवा ६०, किबी प्रति बिरुवा एक सय ५० र अम्बा प्रति बिरुवा ५० रुपैयाँ पर्ने गर्दछ । कार्कीले वि.सं.२०६४ सालमा जम्मा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका कार्कीले बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोंचमा रहेका छन् कार्कीले हाल ७ रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । जसमा २ रोपनी निजी र ५ रोपनी जग्गा लिजमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.