तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूले सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्नुपरेको गुनासो गरे । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ ।

तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्गमा थप जोखिमको डर छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले यो सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ । व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम रहेको छ । तर पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन ।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जिणर् भएकाले असहज भइरहेको बताए । उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए । सडक जिणर् भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको पनि उनले बताए । अर्का व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूणर् रहेको बताए । उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए । स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तरोन्नतिका लागि पहल गर्नुपर्ने उनको आग्रह छ ।

त्यस्तै, तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए । उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताए ।तातोपानी नाका पूणर्रुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था नसुधारिने भएर समस्या बढेको हो । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाई सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.