घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी आउँदा रघुगंगा-६, कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जालाई बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी अर्की ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ ।

घटनाको अनुसन्धान र अवस्थाको पहिचान गर्न प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा आज दिउँसो भारी वर्षा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.