भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो।

मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले दुर्घटनामा मृत्यु भएका व्यक्तीका परिवारलाई दस-दस लाग रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ उपचारखर्च दिने घोषणा गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। दुर्घटनाका कारण आज धेरै रेलहरू रद्द गरिएका छन् । भारतको दर्दनाक रेल दुर्घटनाप्रति देश-विदेशका प्रमुखहरूले शोक प्रकट गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।” गृहमन्त्री अमित शाहले घटना “अत्यन्त पीडादायी” भनेका छन्। घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ । यो घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो। त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यस बेला कम्तीमा ८०० जनाको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.