सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.