बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

गोरखा- ठेक्का लागेको बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य छन् । बारपाकदेखि गुप्सीपाखास्थित लाप्राक नयाँ बस्तीसम्मको १३.१४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ जेठ ९ मा ठेक्का लागेको थियो । गत जेठ २२ भित्र निर्माण सक्ने गरी ठेक्का लागेको सडकको हालसम्म ४८ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति छ । समयमै ठेकेदारले काम सम्पन्न नगरेपछि आगामी जेठसम्म म्याद थप भएको छ । ठेक्का लागेको सडकमा स्तरोन्नतिले गति नलिएपछि वडा कार्यालय र स्थानीयले पटकपटक सरोकारवाला निकायलाई खबरदारी गरेका छन् ।

सडक स्तरोन्नति नहुँदा आगामी बर्खाको बेला पनि आउजाउमा सकस थपिने धार्चे गाउँपालिका-४ का अध्यक्ष किसान गुरुङ बताउछन् । ठेकेदार कम्पनीलाई कामदार थप गरी निर्माणलाई गति दिन आग्रह गरिएको उनले बताए । सडक नबन्दा यात्रुवाहक बससमेत सञ्चालन हुन नसकेको उनको भनाइ छ । अहिले बारपाकबाट लाप्राकसम्म जिप, ट्र्याक्टर र ट्रक भने आउजाउ गरिरहेका छन् । सडककै कारण बर्खामा कुनै पनि सवारी सञ्चालन हुन नसक्दा स्थानीयले बर्सेनि सास्ती भोग्नुपरेको छ ।३४ करोड १५ लाखको लागतमा ग्राभेलसहितका सडक निर्माण गर्ने गरी शर्मा-विकाई जेभीले जिम्मा पाएको छ । हालसम्म चार किमि नाला, आठ हजार पाँच सय घनमिटर ग्याबिन भर्ने काम सम्पन्न भएको छ । सात सय मिटर ढलानको काम पनि सम्पन्न भएको छ ।

सम्झौताको सुरुको चरणमा सडक निर्माणले गति लिएपनि पछिल्लो समय ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले गति नलिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर दीपक बस्नेतको भनाइ छ । बारपाक-लाप्राक-गुम्दा हुँदै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सडकको ट्र्याक खुले पनि स्तरोन्नति नहुँदा स्थानीयले बर्सेनि सास्ती भोग्दै आएका छन् । बारपाकबाट माछाखोलासम्मको सडक बने स्थानीयलाई आउजाउसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.