बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

सामान्य बच्चाको तुलनामा समयअगावै जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिन्छन् । अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बच्चामा आँखाको समस्या पनि देखिन्छ । समयअगावै जन्मिएका बच्चामा देखिने आँखाको समस्यामध्ये ‘रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी)’ पनि एक प्रमुख समस्या हो । उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा यस्तो समस्या देखिन्छ । आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो । यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्छ ।

के हो आरओपी ?

प्रिम्याच्युअर्ड अर्थात् ३४ हप्ताभन्दाअघि जन्मिने र दुई केजीभन्दा कम तौल भएका शिशुको आँखामा देखिने समस्या आरओपी हो । समयअगावै जन्मेका कारण उनीहरूको शरीरको तौल कम हुन्छ र आँखाको रेटिना पूणर् रूपमा विकसित हुँदैन । यसको जोखिम बालबालिकामा करिब ३० देखि ४० प्रतिशत हुने अध्ययनले देखाएको छ  । १६ देखि १८ प्रतिशतमा भने यो समस्या गम्भीर रूपमा देखिएको छ ।

कारण

आरओपीको मुख्य कारण नै समय नपुगी बच्चाको जन्म हुनु हो । ३४ हप्ताभन्दाअघि जन्मिएका बच्चालाई समयअगावै जन्मिएको मानिन्छ । उनीमा धेरै आरओपीको समस्या देखिन्छ । आरओपीको अर्को कारण जन्मिने बेलामा सामान्यभन्दा निकै कम तौल हुनु हो । सामान्यतया बच्चा जन्मिंदा दुई केजीको तौल हुन्छ । तर दुई केजीभन्दा कम तौलको बच्चा जन्मियो भने उनीहरूमा यस्तो समस्या हुन सक्छ । यसबाहेक जन्मिनेबित्तिकै धेरै सिकिस्त भएर लामो समय आईसीयूमा राखेका र धेरै समय अक्सिजन दिएका नवजात शिशुमा आरओपीको जोखिम हुन्छ ।

लक्षण
बाहिरबाट आँखाले हेरेर यसको लक्षण देख्न सकिंदैन । त्यसैले यो समस्या पत्ता लगाउन आँखाको जाँच नै गर्नुपर्छ । धेरै अभिभावकमा बच्चामा केही लक्षण नै देखिएको छैन किन जाँच गराउने भन्ने पनि हुन्छ । तर बच्चा समयअगावै जन्मिएको छ र कम तौलको जन्मेको छ भने जाँच गराइयो भने समयमा उपचार गर्न सकिन्छ ।

उपचार

तीनदेखि चार हप्ताभित्र यो समस्या पत्ता लगाउन सकियो भने यसको पूणर् उपचार गर्न सकिन्छ । समस्या समयमै पत्ता लाग्यो भने लेजरको माध्यमबाट नै यसको उपचार हुन्छ । त्यसपछि सुई लगाएर पनि उपचार गर्नुपर्ने हुन्छ । तर अन्तिम स्टेजमा आरओपीको उपचार शल्यक्रिया नै गर्नुपर्छ । ढिलो पत्ता लाग्यो भने उपचार हुने सम्भावना न्यून हुन्छ । सुरुवातमै उपचार सुरु गर्न सकेमा समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ ।

बच्ने उपाय
बच्चालाई यस्तो समस्याबाट बचाउन आमाले गर्भावस्थामा समय-समयमा स्वास्थ्य जाँच गराउनुपर्छ । बच्चा समयअगावै जन्मिएको छ वा कम तौलको जन्मिएको छ भने २८ दिनभित्र बच्चाको आँखा जाँच गराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.