काठमाडौं– ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौंको सानो भ¥याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन नामका अर्का गुन्डा नाइके मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो ।
उक्त फैसलालाई यहि कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने दोषी ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरिएको हो ।