काठमाडौँ, असोज १० गते । खानेपानीमन्त्री प्रदीप यादव तथा सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज मन्त्रालयमा खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहितको आर्थिक वर्ष २०८१/८२ का लागि कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
खानेपानी मन्त्रालयको कार्यक्षेत्रबमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाईको अधिकारअनुरुप उक्त कार्यसम्पादन करार सम्झौता भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भएको उक्त कार्यसम्पादन करार सम्झौतामा सबैलाई पर्याप्त, गुणस्तरीय र भरपर्दो रुपमा खानेपानीको आपूर्ति व्यवस्था गर्न, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्न, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजान, अव्यवस्थित सहरीकरणका कारण खानेपानी तथा सरसफाईको सेवामा परेको चापलाई व्यवस्थित गर्ने जनाइएको छ ।
यसैगरी परिवर्तित संस्थागत संरचनाका सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासका लागि सरकारका तीनवटै तहमा क्षमता अभिवृद्धि गर्न, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानवसिर्जित मलमूत्रलगायत औद्योगिक र कृषिजन्य फोहर पानीको सङ्कलन, प्रशोधन गरी उचित व्यवस्थापन गर्दै दिगो विकासको क्षेत्रगत लक्ष्य प्राप्तगरी वि.सं २१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।
कार्यसम्पादन सम्झौतामा पहिलो सय दिन (२०८१ कात्तिक ६ गतेसम्म) को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धिमा मनसुनका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने, १७ करोड लिटर मेलम्चीको पानी प्रतिदिन काठमाडौँ उपत्यकामा पठाउने, न्यूरोड–ठमेल क्षेत्रको थप ३० किमी पाइपलाइनको कार्यात्मक ग्यारेन्टीलगायत रहेको मन्त्रालयले जनाएको छ ।