एएफसी फुटसल छनोट प्रतियोगितामा नेपाल ताजकिस्तानसँग पराजित

0
145

काठमाडौं । सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्नुका साथै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल एएफसी फुटसल एसियन कपको सेन्ट्रल तथा साउथ जोन छनोट प्रतियोगितामा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले तेस्रो मिनेटमै आदील हमीदको गोलबाट अग्रता लिएको थियो । तर, नेपाल खेल सकिँदा १० गोलको अन्तरमा पराजित भयो ।

नेपालले तेस्रो मिनेटमा आदिल हमीदको गोलबाट अग्रता लिएको थियो । उनले विपक्षी रक्षापंक्तिले गरेको गल्तिको फाइदा लिँदै गोल गरेका हुन् । आठौं मिनेटमा योरोभ इद्रिसले बराबरी गोल फर्काएका थिए ।

अलिमाखमादोभ नेक्रुज १७ औं मिनेटमा रातो कार्डको सामना गरेपछि ताजकिस्तान चार खेलाडीमा सिमित भएको थियो । नेक्रुजले नेपालका मणिकुमार लामाको मुखमा हातले हानेपछि रातो कार्डको सामना गरेका थिए । लगत्तै नेपालका विजय श्रेष्ठले पनि रातो कार्डको सामना गरेपछि दुबै टोलीले पहिलो हाफको बाँकी समय चार खेलाडी रहेर खेलेका थिए । नेपालका गोलकिपर अनिश श्रेष्ठ अगाडि बढेको अवस्थामा सारदोरोभ फेजालीले हानेको प्रहार विजयले हातले रोकेपछि रेफ्रीले रातोे कार्डको दर्शन पाएका थिए । त्यसपछि पाएको पेनाल्टी अवसरलाई ताजिकिस्तानले सदुपयोग गर्न सकेन । ताजकिस्तानका फेजालीले हानेको प्रहार बारमा लागेर फकिएको थियो । पहिलो हाफमा पेनाल्टीमा चुके पनि फेजालीले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरी खेले पनि दोस्रो हाफको सुरुमै ताजकिस्तानले कुजिभ उमेदको गोलबाट अग्रता लियो । २५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका फेजालीले ३१औं मिनेटमा दोस्रो गोल थपेका थिए । फेजालीले हानेको प्रहार नेपालका सरोज तामाङको ख्ट्टामा लागेर गोल भएको थियो । उनले त्यसको एक मिनेटमै ह्याट्रिक गरेका थिए ।

हालीमोभ शाबक्वाटले ३३ र ३४औं मिनेटमा गोल थपे । शाबक्वाटले दोस्रो गोल थप्नुअघि उमेदले व्यक्तिगत दोस्रो गोल थपेका थिए । रिजोमोभ समान्दर ३७ र ३८औंमिनेटमा अर्को गोल थपे । त्यस्तै समान्दरले दोस्रो गोल गर्नुअघि इद्रिसले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल पहिलो खेलमा पनि उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । ताजकिस्तान भने पहिलो खेलमा अफगानिस्तानसँग ४–४ को बराबरी खेलेका थिए ।

नेपालले अब अन्तिम खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here