माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाईनलमा

0
82

साफ च्याम्पियनसिपको अन्तिम लिग खेलमा साविकको विजेता माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाईनलमा पुगेको छ ।

माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसिपको अन्त्मि लिग खेलमा भारतले माल्दिभ्समाथि ३–१ गोल अन्तरको शानदार जित निकालेको हो ।

भारतलाई फाईनलमा पुर्याउन कप्तान सुनिल क्षेत्रीले दुई तथा मनविर सिंहले एक गोलको योगदान गरे ।

खेलको ३३औं मिनटमा मनविरले गोल गर्दै भारतलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनटमा अलि अस्फाकले पेनल्टीमा गोल गर्दै माल्दिभ्सलाई १–१ गोलको बराबरी दिलाए ।

पहिलो हाफमा गोलका केही अवसरहरु सिर्जना गरेको माल्दिभ्स दोश्रो हाफमा भने फितलो देखिएको थियो ।

खेलको ६२औं र ७१औं मिनटमा सुनिलले ब्यक्तिगत दुई गोल गर्दै भारतलाई ३–१ गोल अन्तरको जित दिलाए । यो सुनिलको ७९औं अन्तराष्ट्रिय गोल हो ।

जितसँगै भारत लिग विजेताको रुपमा फाईनल पुग्न सफल भएको छ । उसको चार खेलमा ८ अंक भएको छ ।

हारसँगै साविकको विजेता माल्दिभ्सको आफ्नै घरमा उपाधि रक्षा गर्ने चाहना अपुरो बन्न पुगेको छ ।

फाईनलमा भारतले नेपालको सामना गर्नेछ । भारतले सातपटक साफको उपाधि जितेको छ ।

नेपालले आजै भएको पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी नतिजा निकाल्दै लिगको उपविजेताको रुपमा फाईनलमा स्थान बनाएको थियो ।

नेपाल साफ च्याम्पियनसिपको २८ वर्ष लामो ईतिहासमा पहिलोपटक फाईनलमा पुगेको हो ।

नेपाल भारतसँग लिग चरणको खेलमा १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल र भारतबिचको फाईनल खेल असोज ३० गते शनिबार नेपाली समयानुसार राति ८ः४५ बजेबाट शुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here