पाटनमा पायः खड्ग जात्रा यसवर्ष सञ्चालन हुने

0
63

ललितपुर — कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा यसवर्ष सञ्चालन हुने भएको छ । ललितपुर महानगरले मंगलबार सारोकारवाला गुठियार, गुठी संस्थान, पाटन संग्रहालय, ललितपुर उद्योग वाणिज्य संघलगायतसँग छलफल गरेर यस वर्ष जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जात्रा सम्पन्न गर्न विभिन्न ३२ खलक आवश्यक पर्छ । जसमा ठेचोको नवदुर्गा नाच, पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवी सञ्चालन गुठी ‘मू छेँ आँगन घर’, पाटन नकबहिल टोलको अष्टमात्रिका नाच, काः मंका गुठी च्यासल, मुहाली, खड्गी खलक, बौ छाय्गु गुठी, धौगुः खलः, कायगु ननीका गुठियारलगायत चाहिन्छ ।

विभिन्न कारणले रोकिएको जात्रा ०७५ मा २३ वर्षपछि पुनः सञ्चालनमा आएको थियो भने २०७६ मा पाटन पटुको टोलमा ४० वर्षपछि नवदुर्गा नाच पुनःसञ्चालनमा आएको थियो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा सञ्चालन हुने अमूर्त संस्कृति सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्न विज्ञ टोलीसँग छलफल भइरहेको बताए । ‘दरबन्दी रकम पनि समयानुकूल वृद्धि गर्दै लैजाने योजना छ,’ उनले भने, ‘खड्ग जात्राका लागि २५ लाख रुपैयाँको अक्षयकोषको व्यवस्था गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here