गायिका विष्णु माझीको ’दसैं–तिहार आइसक्यो’ गीतको चर्चा बढ्यो

0
45

काठमाडौँ — गायिका विष्णु माझीको ’चरी जेलैमा’ बोलले गीतले यो वर्ष तीजमा तहल्कै पिट्यो । यो गीतमाथि कम्मर नमर्काउने कमै थिए होलान् । युट्युबमा सार्वजनिक भएदेखि नै बजारमा गीतको चर्चा बढ्यो ।

’जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेँसी मेलैमा‘’, महिलाहरुको पीडा पोखिएको भन्दै कतिले गीतलाई यो वर्षकै उत्कृष्ट तीज गीतको रुपमा विश्लेषण गरे । यो गीतसँगै पुनः एकपटक विष्णु माझीको जीवनमाथि चर्चा÷परिचर्चा भयो । गीत चर्चामा आएसँगै विष्णु माझीको निजी जीवनबारे चासो राख्ने बढे ।

यतिखेर फेरि विष्णु चर्चामा छिन् । तीजको गीतको चर्चा सेलाउन नपाउँदै दसैं लक्षित गरेर सार्वजनिक गरेको गीतले उनको चर्चा चुलिएको हो । युट्युब च्यानल सपना म्युजिक इन्डस्ट्रिजबाट सार्वजनिक भएको गीतलाई पाँच दिनमै २२ लाख बढीले हेरेका छन् । गीतको बोल हो, ’दसैं–तिहार आइसक्यो’ । ८ मिनेट ४० सेकेण्ड लामो गीतको भिडियोमा चाडपर्वमा कमाउन हिँडेका पतिको सम्झना गर्दै प्रतिक्षा गरिरहेकी पत्नीको कथा प्रस्तुत गरिएको छ ।

’परदेशी परदेशी, आउन हो परदेशी । ए परदेशी आउ है गाउँमै, दसैं–तिहार आइसक्यो, झल्को लाइसक्यो,’ गीतमा शब्दहरु पनि भिडियोको कथामा मिलाइएको छ,’ भञ्ज्याङको बरको बोट, पिङ नि हालिसके, ओल्लो पल्लो गाउँका लाहुरे आउन थालिसके, आउ है गाउँमा ।’ गायिका माझीले आफ्नो स्वरको जादुले तीजमा झैं दसैं कब्जा गर्ने देखिन्छ ।

गीत गायिका माझीकै पति सुन्दरमणि अधिकारीले लेखेका हुन् । गीतमा उनकै संगीत छ । गीतमा धर्म गन्धर्वको सारंगी, सीताको सितार, बलबहादुर जैरुको सहनाई समावेश छ । शम्भू चालिसेले खिचेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन र शिव बिकको कोरियोग्राफी छ । भिडियोमा देखिएकी कलाकार भने प्रिया विष्ट हुन् ।

लोकगीत जन्माउने र गुनगुनाउने अग्रजहरुका छन्दात्मक शैलीहरुको मधुररस र आफ्नो अन्तरह्रदयको भावनासँग आँखमिचोली खेल्दै गीत तयार पारिएको बताइएको छ । ’भनिन्छ, लोक गीत–गीत संगीतको जननी अनि समाजको दर्पण पनि, तिनै लोकगीत जन्माउने र गुनगुनाउने अग्रजहरुका छन्दात्मक शैलीहरूको मधुरसमा लट्ठ पर्दै र मेरो अन्तरहृदयको भावनासँग आँखमिचोली खेल्दै मैले यो गीत तयार परेको हुँ । तसर्थ तिनै अनन्त अनि कालजयी शैलीहरु जन्माउने सबै अग्रजहरुप्रति कोटी कोटी नमन !’ गीतबारे सपना म्युजिक इन्डस्ट्रिजले युट्युबमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here