नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौमा नै हुने

0
98

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा नै हुने दाबी गर्नुभएको छ ।

तोकिएको समयमा महाधिवेशन हुने जानकारी देउवाले बुधबार विज्ञप्ति निकालेर दिनुभएको छ । सरकार कोभिड व्यवस्थापनका लागि समयमै गम्भीर नभएकाले महामारीकै बीच महाधिवेशन गर्नुपर्ने वाध्यता रहेको देउवाले उल्लेख गर्नुभएको

’यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु ०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिवद्ध छु ।’ पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको उल्लेख गर्दै देउवाले पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको देउवाले लेख्नुभएको छ ।

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नहुने उल्लेख गर्दै देउवाले लेख्नुभएको छ – ’महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन,बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो ।’

पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीका सबै नेता र सदस्यहरूलाई सक्रिय बन्न पनि आग्रह गर्नुभएको छ । समय धेरै नरहेको उल्लेख गर्दै देउवाले असार र साउनभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नुपर्ने पनि विज्ञप्तिमा लेख्नुभएको छ ।

कांग्रेसले आगामी भदौ ७ देखि १० मा १४ औं महाधिवेशन गर्ने यसअघि नै तय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here