दिउँसै खुकुरी देखाएर न्युरोडको आईएमईमा लुटपाट

काठमाडौं । दिउँसै खुकुरी देखाएर न्युरोडको खिचापोखरीमा रहेको आईएमईमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा दाङका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोटका १८ वर्षीय उमेश केसी र ललितपुरका नवीन केसी छन् । उनीहरुलाई भक्तपुर, बानेश्वर र ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले सनराईज खबरलाई बताउनुभयो ।

बुधबार दिउँसो ३ बजे लुटपाट भएको र त्यसको केही घण्टामै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –अ‘करिब ३ बजेतिर भएको घटना हो, हामीलाई साँझ ६ बजेतिर सुचना आयो । फरार भएका ति लुटेराहरुलाई हामीले तत्कालै पक्राउ गर्न सफल भयौँ ।’

उनीहरुले ५ लाख रुपैयाँ लुटेको आइएमई सञ्चालक हेम मल्ल र गोरख चन्दको दाबी छ । उनीहरुको साथबाट १ लाख ३४ हजार रुपैयाँ बरामद भएको छ । त्यसबाट केही रकम खर्च गरिसकेको प्रहरीलाई बताएका छन् ।

‘आईएमई लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ’, एसएसपी सिंहले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *