सरकार र थरुहट आन्दोलनकारीबीच वार्ता

काठमाडौं । सरकार र थरुहट आन्दोलनकारीबीच वार्ता भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र थारुवान संघर्ष समितिबीच मंगलबार गृह मन्त्रालयमा पहिलो चरणको वार्ता भइरहेको हो ।

थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा सरकारले सोमबार तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी हुनुहुन्छ ।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी हुनुहुन्छ । रेशम चौधरीको रिहाइको माग गर्दै केही दिनअघिदेखि थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा धर्ना दिँदै आएको छ । सो पक्षले चौधरीको रिहाइलगायत १९ बुँदे माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *