धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्त्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७औँ महाधिवेशन तथा १३औँ साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्त्वले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पु¥याउने गरेको भन्दै त्यस्तो काम कहीँकतैबाट पनि हुन नहुने बताएका हुन् ।

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए । धरहरा बनाउने क्रममा सबैभन्दा बढी गाली आफूले खाएको भन्दै उनले महानगर एकाध समूहको विरोध र नाराबाजी नअल्झेर योजनाबद्ध ढंगले अघि बढ्ने स्पष्ट पारे ।

’धरहरा बनाउन दिनुहोस् । विभिन्न वहानामा कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहाँका बासिन्दा होइन, कहाँकहाँबाट आउँछन् । अवरोध गर्छन् । ४÷५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुस गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन्’ उनले भने, ’तर, हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र हामीले पनि सोचेका थियौँ त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यावसायिक रूपमा उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाइदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबैभन्दा बढी गाली खानेमै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनाबद्ध ढंगले अघि बढेको छ । अघि बढ्छ ।’

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ–आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे । कोभिड– १९ को समयमा महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छुभन्दा भन्दै बाहिरिने र भित्रिने काम भएको स्मरण गर्दे उनले जिम्मेवारी लिन खोज्दाखोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *