राष्ट्रपतिद्धारा मुस्कान खातुनलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई बधाई दिनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने विमेन अफ करेज (साहसी महिला) पुरस्कारका लागि मुस्कानलाई चयन भएकी छिन् । राष्ट्रपति भण्डारीले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुस्कानलाई बधाई दिनु भएको हो । राष्ट्रपति भण्डारीले मुस्कानलाई पुरस्कार प्रदान गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ – ’एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।’

वीरगञ्जकी किशोरी मुस्कानमाथि ०७६ भदौ २० गते एसिड प्रहार भएको थियो । उनकै पहलस्वरूप सरकारले एसिड आक्रमण गर्ने अपराधीविरूद्ध अध्यादेशमार्फत कडा कानुन बनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार एसिड आक्रमण अन्त्यतर्फ लक्षित कामका लागि सो पुरस्कार दिने निर्णय अमेरिकाले गरेको हो । सो प्रतिष्ठित पुरस्कार यसअघि पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन् ।

अमेरिकी प्रथम महिला जेल बाइडेन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रममार्फत पुरस्कार दिने औपचारिक घोषणा गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *