म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको हो । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
अनलाइनमा सार्वजनिक तस्वीरहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ ।
बुधबारको हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यान्मारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले म्यान्मारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिनुभयो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यान्मारमा जारी दमन तत्काल रोक्न आग्रह गर्नु भएको छ । सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यान्मारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताउनु भएको छ ।
बिहीबार प्रदर्शनकारीहरुले याङ्गुन र मन्डाले शहरका साथसाथै अन्य शहर बजारमा जुलुस निकालेका छन् । सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै १ हजार ५ सय प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । सेनाले म्यान्मारकी नेतृ आङ सान सुकी समेत उहाँको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो सङ्ख्याका नेता एवं कार्यकर्ता नजरबन्दमा राखेको छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *