भागरथी भट्टको आज दाहसंस्कार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । हत्या भएको १७औँ दिनमा भागरथीको दाहसंस्कार गर्न लागिएको हो ।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै एक किशोरलाई आरोपी भन्दै सार्वजनिक गरेको थियो । आरोपी भनेर सार्वजनिक गरिएका ती किशोरले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख थियो ।

त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन । बिहीबार आरोपी किशोरका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा आरोपीले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको आरोपीले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताउनुभयो । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेंकी भागरथी साँझ घर नफर्केपछि खोजी गरिएको थियो । माघ २२ गते घरनजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा उनको शव फेला परेको थियो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *