रोकिएको अरुण तेस्रो जलविद्युत आयोजनाको काम पुनः सुचारु

काठमाडौं । निर्माण कम्पनीको गाडीले एक जनाको ज्यान लिएपछि रोकिएको अरुण तेस्रो जलविद्युत आयोजनाको काम पुनः सुचारु भएको छ ।

संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रोमा काम गर्ने टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि स्थानीयले आयोजनाको काम ठप्प पारेका थिए ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएको थियो । घटनामा उहाँकी पत्नी गम्भीर घाइते हुनुभएको थियो ।

आयोजना र पीडित पक्षबीच कुरा नमिल्दा चार दिनसम्म मृतकको शव उठाइएको थिएन । अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएपछि शव उठाइएको छ भने आयोजनाको काम पनि सुरु भएको छ ।

मृतकका परिवारले बीमा वापतको २० लाख रुपैँया पाउने र मृतकका बुबाआमाको भरणपोषणका लागि मुद्दती खातामा १० लाख रुपैँया जम्मा गर्ने सहमति भएको छ ।

त्यस्तै मृतकका दुई जना छोरा छोरीको लालनपालनको सम्पूर्ण खर्च आयोजनाले व्यहोर्ने र उनीहरुको उच्च शिक्षाका लागि भारतीय राजदूतावासबाट छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ ।

त्यसैगरी उपचारको लागि काठमाडौंँ ल्याइएकी घाइते प्रेमकुमारीको सम्पूर्ण उपचार खर्च कम्पनीले नै व्यहोर्ने भएको छ ।

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ । आयोजना २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *