नेपाली कांग्रेसले आज देशभर प्रदर्शन र सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज देशभर प्रदर्शन र सभा गर्दैछ ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो । माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

सो बैठकले माङ १९ गते भ्रातृ संस्थाको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने, २४ गते पार्टीका शुभेच्छुक संस्थाको नेतृत्वमा प्रदर्शन गर्ने र फागुन ३ गते सबै जिल्लामा पार्टीका स्थानीय तहको नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । आजको प्रदर्शनपछि हुने सभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनुहुनेछ । प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुरको प्रदर्शनमा सहभागी हुनुहुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ, उपसभापति विमलेन्द्र निधी सप्तरी र महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभामा सहभागी हुनुहुने कार्यक्रम छ ।

विघटनको विरोध गरेपनि सभापति देउवाले सर्वाेच्च अदालतको निर्णय पर्खने बताउँदै आउनुभएको छ । कांग्रेस चुनावका लागि तयार रहेको पनि उहाँले बताइसक्नुभएको छ ।

तर वरिष्ठ नेता पौडेलले भने आन्दोलन गर्ने अडान लिनुभएको छ । उहाँले फरक फरक अभिव्यक्ति दिँदै पनि आउनुभएको छ । कहिले आन्दोलन नै गर्ने कहिले अदालतको निर्णय पर्खने भन्दै उहाँले ठाउँ ठाउँमा भाषण गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *