काठमाडौंमा फेरि बर्डफ्लु रोग

0
20

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु रोग देखिएको छ ।

तारकेश्वर-१ का स्थानीय किसानले पालेका हाँसमा बर्डफ्लु देखिएको पशु सेवा विभागले विज्ञप्ति निकालेर जानकारी दिएको हो । यसअघि माघ १६ गते तारकेश्वर नगरपालिका(७ साङ्लेखोला फुटुङमा पनि बर्डफ्लु देखिएको थियो ।

स्थानीय किसानले पालेको हाँसको नमुना केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग (H5N8) पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

२७ माघमा स्थानीय किसानले पालेको हाँसको नमुना परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन पशुसेवासँग सम्बद्ध निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले जनाएको छ ।

त्यसक्रममा १ हजार ४ सय ६३ वटा पन्छी, २६ वटा अण्डा र ८ सय किलो दाना नष्ट गरिएको विभागले जनाएको छ । बर्डफ्लु देखिएको क्षेत्रमा पूर्ण निसंक्रमण समेत गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले पक्षी पालक किसानलाई सजग रहन पनि अनुरोध गरेको छ । विभागले पक्षी तथा पन्छीजन्य उत्पादनको ओसार(पसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन आग्रह गरेको छ ।

फार्म परिसरमा जैविक सुरक्षाका विधि अपनाउन, फार्म परिसरमा निसंक्रमण गर्न र व्यक्तिगत सफाइमा ध्यान दिन पनि विभागले आग्रह गरेको छ । पशुपन्छीलाई मान्छेको सम्पर्कमा आउन नदिन, हाँस कुखुरा लगायतका पन्छीलाई खुला ठाउँमा नछाड्न, अस्वभाविक रूपमा पक्षी बिरामी परे वा मरे तत्काल नजिकैको पशु कार्यालयमा जानकारी दिन पनि विभागले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here