महिला राष्ट्रिय लिगमा विदेशी खेलाडी मेथो रुथको दोहोरो ह्याट्रिक

१५ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगमा विदेशी खेलाडी मेथो रुथले दोहोरो ह्याट्रिक गरेपछि स्याङ्जाको वालिङ नगरपालिकाले शानदार जित हात पारेको छ ।

क्यामरुनका मेथोको दोहोरो ह्याट्रिक मद्दतमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो । जारी लिगमा यो पहिलो दोहोरो ह्याट्रिक हो । रुथले पहिलो ह्याट्रिक १२ मिनेटमै पूरा गरेकी थिइन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा मेथोले खेलको सातौँ, नवौं र १९ औं मिनेटमा गोल गरिन् । रुथले ६३ औं, ७१ औं र इन्जुरी टाइममा गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन् ।

यस्तै सम्झना शर्माले दुई तथा मनमाया दमाई र अर्का विदेशी टौना रेनेलाले एक एक गोल गरिन् । सम्झनाले ८० औं र ८२ औं मिनेटमा गोल गरिन् । मनमायाले ३३ औं तथा टौनाले ४९ औं मिनेटमा गोल गरिन् ।

लिगको पहिलो जितपछि ४ खेलबाट ५ अंक जोड्दै वालिङ अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । वालिङले यसअघि विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको थियो भने आर्मीसंग पराजित भएको थियो ।

चौदण्डीगढीको भने यो लगातार तेस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *