तीन सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानुनी प्रक्रिया पूरा :मन्त्री रामेश्वर फुयाँल

0
1

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् ।

हेटौंडा–वीरगन्ज सडकखन्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर लामो सुरुङमार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिएका हुन् ।

मन्त्री फुयाँलले काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।

उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानुनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए ।

मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इन्जिनियर प्राविधिकलाई इमानदारीका साथ काम गर्न निर्देशन दिए । उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनियरलाई स्वागत गरे ।

मन्त्री फुयाँलले हेटौंडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पुरानो सुरुङमार्गको स्थलगत अवलोकन गरेका थिए । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here