बुटवलमा गोली चल्यो, एक जना घाइते भएको र ३ जना पक्राउ

काठमाडौं । बुटवलमा गोली चलेको छ ।

गैंडा तस्करहरुलाई नियन्त्रण गर्ने क्रममा गोली चलेको हो । गोली लागेर एक जना घाइते भएको र ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरलले जानकारी दिए ।

एसपी पोखरेलका अनुसार बुटवलको मिलनचोकस्थित एक होटलमा गैंडाको खागसहित तस्करहरु बसेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये एक जनालाई गोली लागि घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपाने रहेका छन् ।

“उनीहरुलाई पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको थियो । तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपाने भन्नेलाई गोली लागेको हो।” एसपी पोखरेलले लोकपथसँग भने ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । होटलबाट खाग समेत बरामद गरिएको र त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *