भिटामिन ‘बी’ जसले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ

शरीरलाई स्वस्थ राख्न दैनिक खाइने खानामा भिटामिन र आवश्यक पोषण तत्व समावेश हुनु पर्छ ।
भिटामिन शरीरका लागि आवश्यक पोषक तत्वहरूमध्ये एक हो । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । भिटामिन बीले शरीरमा मेटाबोलिजमलाई बढावा दिन्छ जसले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्त कोष निर्माण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसको कमीबाट शरीरमा अनेक समस्या निम्तिन सक्छन् ।
शरीरले भिटामिन बी नबनाउने हुँदा यसलाई पशु आधारित खाना वा औषधिमार्फत् लिनुपर्ने हुन्छ । शरीरले लामो समयका लागि भिटामिन बी भण्डार पनि गर्न नसक्ने हुँदा भिटामिन बीको नियमित सेवन गर्न एकदम आवश्यक हुन्छ । वृद्धवृद्धा, गर्भवती महिला तथा पहिलादेखि स्वास्थ्यमा समस्या भएका व्यक्तिहरूमा भिटामिन बीको कमी हुने सम्भावना बढी हुन्छ ।
भिटामिन बीको कमी हुँदा थकान, भ्रम, टाउको दुखाइ, सास फेर्न समस्या हुने, मुखमा घाउ आउने, मुखको छेउतिर फुट्ने, जिब्रो रातो हुने, वान्ता हुने, कमजोरी, खान मन नलाग्ने, झाडापखाला, कब्जियत, एनिमिया, कमजोर सम्झौता प्रतिरक्षा प्रणाली, डिप्रेसन, तौल घट्ने, हातखुट्टा जमझम हुने, स्मरण शक्ति हराउनुका साथै छालामा समस्या पनि हुन सक्छ ।
तर, भिटामिन बीको अभाव हुँदा देखिने लक्षण कुन बी भिटामिन कम हुँदा देखिएको भन्नेमा निर्भर गर्छ । भिटामिन बी १२ को अभाव हुनुलाई सामान्य मानिन्छ । बी १२ को कम स्तरले एनिमिया, थकान र स्नायुसम्बन्धी समस्या निम्त्याउन सक्छ । भिटामिन बि १, २, ३, ६ र ९ को कमी विरलै हुन्छन् ।
स्वस्थ रहनका लागि धेरै व्यक्तिहरूले पर्याप्त बी भिटामिन प्राप्त गर्न एक औषधि नै लिनु आवश्यक हुँदैन । शरीरलाई स्वभाविकरूपमा चाहिने सबै पोषक तत्व मासु, अन्न, फल तथा तरकारीबाट प्राप्त गर्न सकिन्छ । केही स्वास्थ्य समस्या भएमा वा आहारमार्फत् बी भिटामिन प्राप्त गर्न नसकेमा मात्र औषधि अन्तिम उपाय हुन्छ ।
