कालीकोटको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति

File

कालिकोट– कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। ‘आगलागीबाट कुनै मानवीय क्षति भएको छैन’ उनले भने।

दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थल पुगेका थिए। आगलागीबाट प्रभावित १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *