बलात्कारको घटना पञ्चायतमार्फत मिलापत्र गराउने आठ पञ्च पक्राउ

असोज १८, २०७७ जनकपुरधाम ः बलात्कारको घटना पञ्चायतमार्फत मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। केही पञ्च भने फरार भएकाले पक्राउ परेका छैनन्। सिरहाको विष्णुपुर गाउँपालिका(१ की एक किशोरी असोज १२ गते बेलुकी बलात्कृत भएकी थिइन्।

स्थानीय २० वर्षीय मुकेश कुमार साहले बलात्कार गरेको पीडित किशोरीले आरोप लगाएकी थिइन्। बलात्कृत भएपछि किशोरी उपचारका लागि विराटनगर पुगेर विराट नर्सिङ सेन्टरमा उपचार गराइन्।

उपचारपश्चात असोज १६ गते घर फर्केपछि उनलाई स्थानीयले प्रहरीमा उजुरी नगर्न दबाब दिए र गाउँमै पञ्चायत भएको थियो। छलफलबाट आरोपी साहलाई ५ लाख जरिवाना गरी अपराधबाट उन्मुक्ति गर्ने निर्णय पञ्चहरुले गरेका थिए। तर सो निर्णयबाट पीडित परिवार भने सन्तुष्ट थिएनन्। त्यसपछि बलात्कार घटना पञ्चायत गरी मिलापत्र गराएको घटना प्रहरीसमक्ष पुग्यो। प्रहरीले तत्कालै आठ पञ्चलाई पक्राउ गरिसकेको छ।

पञ्चायतमा निर्णायक भूमिका निर्वाह गरेका केही व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी शालिग्राम पौडेलले बलात्कार घटना मिलापत्र गराएको आरोपमा केही पञ्चलाई समातिएको जनाए। तर उनले कति जना पक्राउ परेको र कति जना फरार रहेको भने बताएका छैनन्।

स्थानीयले दिएको जानकारीअनुसार विष्णुपुर गाउँपालिका(१ कै ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उद्गार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राज कुमार यादव र ३५ वर्षीय श्याम सुन्दर यादव पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मिलापत्र गराउन खोज्ने सबैमाथि कानुनबमोजिम कारबाही हुने प्रहरी अधिकारी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *