२६ वटा पसललाई जरिबाना

काठमाडौं महानगरले पछिल्ला २२ दिनमा तरकारी, फलफुल र खाद्य गरी १ सय २३ वटा पसलमा अनुगमन गरेको छ ।जसमा २६ वटा पसललाई अनुगमनका क्रममा आर्थिक जरिबाना गराइएको छ । यसरी तिराइएको जरिबानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं महानगरले जनाएको छ ।

बजारमा खाद्य बस्तु तथा प्याजलगायत तरकारीमा अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि नियमित अनुगमन भइरहेको महानगनरले जनाएको हो ।यस अवधिमा किराना पसलतर्फ खुद्रा, होलसेल र गोदाम, तरकारी तथा फलफूल बजारको अनुगमन गरिएको छ ।

अनुगमनमा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अघि बढाइएको हो ।
यो सँगै खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । यसरी सचेत गराइएका व्यापारीलाई अनुगमन टोलीले गर्नु भनेको काम गरेर त्यसको प्रमाण लिएर महानगरमा सम्पर्क गर्न भनिएको छ । यीमध्ये २२ जना व्यापारी अनुगमन टोलीको सम्पर्कमा आइसकेका छन् ।

यस्तै मिति सकिएका सामान बिक्री वितरण गर्ने ११ वटा पसलबाट करिब १० लाख रुपैयाँ मूल्य बराबरका सामान बरामदपछि नष्ट गरेर कारबाही अगाडि बढाइसकेको छ ।
अनुगमनको नेतृत्व गरेका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले अनुगमन क्रममा पसलमा मूल्यसूचि, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको हेरिएको बताउनुभयो ।

उनले यसअघि दिइएका निर्देशनको पालना र तौल जस्ता विषयमा हेलचेक्राँइ गर्ने व्यवसायीलाई जरिबाना लगाइएको जानकारी गराउनु भयो ।यसक्रममा काठमाडौंका ठूला तरकारी बजारहरुमा कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल हेरिएको हो ।

अनुगमनबाट प्राप्त उपलब्धिका विषयमा जानकारी गराउँदै उपप्रमुख एवं समितिका संयोजक हरिप्रभा खड्गी श्रेष्ठले महामारीको फाइदा उठाउँदै मनलाग्दी रुपमा मूल्य वृद्धि गरेर व्यवसाय संचालन गर्ने व्यसायीलाई कारबाहीको दायरामा ल्याइने बताइन् ।

अहिलेसम्म दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, वनस्थली, वत्तीसपुतली क्षेत्रमा अनुगमन भइसकेको छ भने कोटेश्वर बानेश्वर जस्ता क्षेत्रमा अनुगमन भइरहेको छ ।

अनुगमन गर्ने क्रममा उपत्यकाका अधिकांश पसलहरुमा मिति पुगेका सामानहरु दाल मैदा, खाने तेल, ा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थलाई नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी छन् । टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ ।

बजार व्यवस्थामा कसुर गर्नेलाई आर्थिक जरिबाना गराउने अधिकार महानगरलाई नभएकोले अहिले व्यापारमा भएको कसुरका आधारमा अनुगमन टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीका लागि लेखेर पठाउने गरेको छ । विभागले व्यापारीलाई उपभोक्ता संरक्षण ऐन–२०७५ ले दिएको अधिकार प्रयोग गरेर आर्थिक जरिबाना तिराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *