होटल सञ्चालकले कुटपिट गर्दा ग्राहकको मृत्यु

१३ असोज, विराटनगर । होटल सञ्चालकले कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका ७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो ।

श्रीमान श्रीमतीको विवादले गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा राति श्रीमतीसँगको विवाद गरेपछि तामाङ छुट्याउन गएको र तामाङसँग धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएको देखिन्छ ।

टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो । तर बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार मल्लिकको उपचारका क्रममा सोमबार राति सिलिगुडीमै मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *