ललितपुरमा कर्फ्यू हटाएर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार राति १० बजेबाट कर्फ्यू हटाएर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको थियो।
१० बजेबाट कर्फ्यू हट्ने भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो । रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।

निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने उनले जानकारी दिए । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *