बौद्धमा सुरु भयो फुड ब्याङ्क, ७ दिनसम्म समस्यामा परेकालाई खाद्यान्न वितरण गरिने

काठमाडौँको बौद्धमा फुड ब्याङ्क सुरु भएको छ । ‘हुनेले दिने नहुनेले लिएर जाने’ कन्सेप्टमा देशका विभिन्न स्थानमा सुरु भएको फुड ब्याङ्कलाई बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज, माउन्टेन शेर्पा फाउण्डेसन र हिमालयन शेर्पा कल्चर सेन्टरले संयुक्तरुपमा सुरु गरेका हुन् ।

विहिवार पहिलो दिन करिब ५० जनालाई चामल, तेल, चिउरा, पिठो लगायतका अत्याश्यक ७ किशिमका खाद्यान्न प्रदान गरिएको लायन्स क्लब अफ नेपाल शेर्पाजकी अध्यक्ष पासाङ (छिल्हामू) शेर्पाले बताइन् ।

पहिलो दिन अपेक्षा गरेभन्दा बढि सर्वसाधारण जम्मा भएको माउन्टेन शेर्पा फाउण्डेसनका अध्यक्ष पासाङ शेर्पाले बताए । पहिलो दिन सोचेभन्दा बढी मानिस आएकाले दोस्रो दिनदेखि आफुहरुले प्रदान गर्ने खाद्यान्नको प्याकेज बृद्धि गरिने शेर्पाको भनाई छ ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागी दोस्रो पटक गरिएको निषेधाज्ञाले श्रमिक वर्ग थप मारमा परेको र दैनिकी गुजार्न समेत समस्या भइरहेको जानकारी पाएपछि आफूहरुले सानै परिणाममा भएपनि सहयोग गर्ने उद्देश्यले फुड ब्यांक सुरु गरेको हिमालयन शेर्पा कल्चर सेन्टरका छिरिङ शेर्पाले उल्लेख गरे ।

बौद्धको शेर्पा गुम्बा अगाडि राखिएको फुड ब्याङ्क ७ दिनसम्म राख्ने आयोजकको योजना रहेको छ । फुड ब्याङ्क सञ्चालनका लागी दर्जनभन्दा बढिले आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *