आज हरितालिका तीज, पशुपतिनाथको मन्दिर परिसर यस वर्ष सुनसान

काठमाडौं । आज हरितालिका तीज । तीजको अवसरमा मन्दिर जाने हिन्दू धर्मावलम्बी महिलाहरु घरमै सीमित भएका छन् । तर कतिपय जिल्लाका शिवालय मन्दिरहरुमा हिन्दू धर्मावलम्बी महिलाहरुको घुइँचो लागेको छ ।

आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । आज हिन्दू नेपाली महिलाहरु घरमै परिवारका सदस्यसँग नाच गानसँगै ब्रत बसेका छन् ।

पौराणिक कथनअनुसार पार्वतीले शिवजीलाई पति पाउँ भन्दै व्रत बसेको सम्झनामा आज हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । विवाहित नारीहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु एवं पारिवारिक सुख समृद्धिको कामनाका साथ व्रत बस्दछन् भने अविवाहिताहरु भने योग्य वर पाउँ भन्दै व्रत बस्ने मान्यता छ ।

निषेधाज्ञा र विभिन्न प्रकारका प्रतिबन्धले मन्दिर जान नपाए पनि महिलाहरुले भरमै नाचगान, भजन कीर्तन गर्दै उमंगका साथ भगवान शिवको प्रार्थना, पूजा गर्ने तयारी गरेका छन्। काठमाडौंस्थित पशुपतिनाथको मन्दिर परिसर यस वर्ष सुनसान छ ।

तर, घरमै परिवारका सदस्य जम्मा भएर नाचगान भने बिहानैदेखि सुरु भएको छ । नेपाली समाजमा तीज पर्वका अवसरमा गाइने गीतमा नारीहरुका व्यथा, परिवारमा पाएका दुःख र माइती तथा घरको सम्बन्धको बारेमा चित्रण पाइन्छ ।

तर, यसमा पछिल्लो समय केही विकृति आएको र तीजको गीतहरु भड्किलो बन्दै गएको भन्ने गुनासो पनि आउने गरेको छ । त्यस्ता गीतहरुको आलोचना पनि हुने गरेको छ ।

यस्तै तीजको दर खाने परम्पराको आधुनिकीकरणका नाममा केही हप्ता पहिलैदेखि भड्किलो रुपमा दर खाने प्रचलन हुन थालेको भन्दै संस्कृतिविद्हरुले त्यस्ता गतिविधिप्रति चिन्ता प्रकट गर्दै पनि आएका छन् ।

आजको दिन हिन्दू नारीहरुले आफ्नो सौभाग्य, परिवारको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । यद्यपी विज्ञहरुले भने व्रत बस्दा आफ्नो स्वास्थ्य, शारीरिक तन्दुरुस्तीलाई पनि ध्यान दिन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *