निषेधाज्ञाको पहिलो दिन उपत्यकाका तीन वटै जिल्लामा यसको प्रभाव

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार मध्यरातिदेखि एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । तिजको मुखमा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन उपत्यकाका तीन वटै जिल्लामा यसको प्रभाव देखिएको छ । सडक सुनसान छन् । सडकमा हिड्दै गरेका पैदलयात्रीलाई प्रहरीले सोधपुछ गर्दै सडकमै रोकेर राखेको छ । मूल सडक, भित्री सडक तथा गल्लीहरूमा समेत प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

फाट्टफुट्ट खुलेका किराना तथा तरकारी पसलमा भौतिक दूरी कायम गरेर किनमेल गर्दै गरेका दृश्य देख्न सकिन्छ । बिहान ५ बजेदेखि ७ बजेसम्म केही खुकुलो देखिएको बजार क्षेत्र बिस्तारै सुनसान बन्दै गएको छ ।

तत्कालका लागि १० भदौसम्मका लागि निषेधाज्ञा लागू गरिएको र परिस्थिति हेरेर थप हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । यो समयमा अत्यावश्यक कामबाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाएपनि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा भने कुनै अवरोध नहुने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *