काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंको कलंकी ट्याङ्ला फाँटका एक ६४ वर्षीय वृद्धको ज्यान गएको छ ।
उनी ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।
ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।
यता काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ ।
१८ साउनमा ४ जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
जसमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।