पूर्वडीआईजी रन्जन कोइराला तीन दिनपछि छुट्दै

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका कोइरालालाई अदालतका प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो ।

२७ पुस ०६८ मा कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए । गीतालाई रञ्जनले नै हत्या गरेको ठहरबमोजिम ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेका कोइरालालाई जन्मकैद चर्को हुने बताउँदै कैद सजाय घटाएको हो ।

७ वैशाख २०७१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई श्रीमतीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर २०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए ।

उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दैछ । त्यसपछि कोइरालाले जेलसजाय भोग्नुपर्दैन ।

‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ ।’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ ।
गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । जिल्ला र उच्च अदालतबाट पाएको सजाय भुक्तान गर्न कोइराला काठमाडौँको डिल्लीबजार कारागारमा छन् । सर्वोच्चले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाइदिएपछि कोइराला ३ दिनपछि जेलमुक्त हुन्छन् ।

विस्तृत विवरणको लागि http://www.ratopati.com/story/139127/2020/7/19/court-ranjan-koirala

Leave a Reply

Your email address will not be published. Required fields are marked *