सर्लाही। सलह नेपाल छिरेको छ। भारत हुँदै नेपालको सर्लाही र बारामा सलह छिरेको छ । सर्लाही र बारा जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ।
भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार भएपनि आकस्मिक रुपमा बैठक बोलाएको छ।
सर्लाही र बारामा सलहको एक झुण्ड देखिएको सलह कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी नभएको मन्त्रालयका एक कर्मचारीले बताए ।
उनले बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताएका छन्। पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।
सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो। सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्याउँछ। नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।
हावाको दिशा पछ्याएर १ सय ३० किलोमिटर सम्म समूह बनाएर उड्ने यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको अन्न नष्ट गर्ने वैज्ञानिकहरूको भनाई छ।