पाटन अस्पतालबाट अल्ट्रासाउन्ड मेसिन चोरी

0
114

काठमाडौं : एकजना डाक्टरसहितले ललितपुरको पाटन अस्पतालबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेका छन्।

महोत्तरीको बर्दिबासस्थित डिएन्डबी मेडिकेयर सेन्टरका कार्यकारी निर्देशक डा. प्रवीण मिश्र र सिएमए रमेश कुमार शर्माले पाटन अस्पतालबाट आईसीयु वार्डमा रहेकव अल्ट्रासाउन्ड मेसिन चोरेका हुन्।

उनीहरुले २० लाख ७९ हजार रुपैयाँ पर्ने उक्त अल्ट्रासाउन्ड मेसिन जेठ १७ गते बिहान साढे ८ बजे चोरेर लगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्।

उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएको बहानमा आईसियुव वार्डका स्वास्थ्यकर्मी व्यस्त रहेको मौका मेसिनको पार्ट पुर्जा चोरी गरेर लगेको अनुसन्धानबाट खुलेको हो।

प्रहरी प्रमुख राईका अनुसार घटनाको अनुसन्धानका क्रममा चोरीमा सर्लाही बलरा नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ मा बस्‍ने ३६ वर्षीय डा. प्रविन मिश्र र महोत्तरीको बर्दिवास नगरपालिका-१३ बस्‍ने २० वर्षीय रमेश कुमार शर्मा रहेका छन्। उनीहरुमध्ये मिश्र बर्दिबासस्थित डीएण्डबी मेडिकेयर सेन्टरका कार्यकारी निर्देशक हुन्। शर्मा त्यही सेन्टरका सिएमए हुन्।

एसएसपी राईले दुवैजनाले घटना स्वीकारेको बताएका छन्। ‘दुवैले घटनामा संलग्नता स्वीकारेका छन्’, राईले भने, ‘उनीहरुविरुद्ध बुधबारै ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्‍न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।’

उनीहरु दुवै बर्दिबासबाटै रेफर गरिएका बिरामीलाई भेट्न जेठ १६ गते पाटन अस्पताल आएका थिए। तर त्यसको भोलिपल्ट मेसिन मर्मत गर्ने बहानामा छिरेर उनीहरुले चोरी गरेका थिए। राईले उनीहरु दुवै स्वस्थ रहेको र कुनै मानसिक तथा शारीरिक समस्या पनि नदेखिएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here