एम्बुलेन्सले बाटोमै शव छाडेर हिँडेपछि…

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे। शव कम्बल ओढाएर राखिएको थियो ।

सूचना पाउनेबित्तिकै त्यहाँ प्रहरी टोली पुग्यो। कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने खोजीमा लाग्यो प्रहरी।

प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो। उनीहरू गुराँस गाउँपालिका(२ दैलेखका रहेको सुर्खेत प्रहरीले जनाएको छ।

“मृतक गुराँस गाउँपालिका(२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, सुर्खेतका प्रहरी इन्सपेक्टर गोपाल रायमाझीले भने, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन्।”

मृतकका आफन्तले घाइतेलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको रायमाझीले बताए।

राति कतिबजेतिर सुर्खेत पु¥याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको उनले जानकारी दिए।

रायमाझीका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ। नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन लागिएको छ।

स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा थप बुझ्ने काम भइरहेको जानकरी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *