बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ को क्वारेन्टाइनमा बसिरहेका एक वृद्धको मृत्यु भएको छ।
१५ जेठमा भारतबाट आएर बुढाबाडास्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो।
हिजो साँझदेखि खाना नखाएका उनलाई राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
मृतकको कोभिड(१९ परीक्षणका लागि स्वाब संकलन गरिएको र परीक्षणपछि मात्रै दाहसंस्कार गरिने प्रजिअ गैरेले बताए।
स्वाबको रिपोर्ट नआउन्जेल शवको व्यवस्थापनका लागि आफू उक्त स्थानतर्फ जान लागेको उनले जानकारी दिए। नेपाली सेनाको समन्वयमा शवलाई क्वारेन्टाइनबाट छुट्टै राखिने उनले बताए।