कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भनिन्, “मुखमा आइसकेको बाली थन्क्याउन पाइएन, पाक्न नपाउँदै धानका बाला सुके, अब के खाएर बाँच्ने ।”
उनीहरुको जस्तै पीडा इमानसिंह तामाङ र सीता कार्कीको पनि छ । उनीहरुले लगाएको खेतमा धान पहेलपुर भएर पाकेको छ तर बालामा चामल हैन भुस मात्र छ । तामाङले १५ कठ्ठा र कार्कीले १८ कठ्ठामा लगाएको चैते धान पूरै रोगले कामै नलाग्ने भएको छ । गत वर्ष १८ कठ्ठामा सय मन धान फलाएकी कार्कीले भनिन्, “धान पाक्यो अब काट्नु पर्ला भनेर सोच्दै थिएँ, एकाएक बाला पो सुक्न थाल्यो ।”
नगरपालिकाका अध्यक्ष रोहितकुमार साहले दैनिकजसो किसान गवारो र नेक ब्लास्ट रोगले सखाप पारेको धानका बाला र निवेदन लिएर नगरपालिकाको कृषि शाखामा आइरहेको बताए । उनका अनुसार नगरपालिकाको वडा नं १, २ र ४ का किसानको धान रोगले सखाप पारेको छ ।
एक हजार हेक्टर क्षेत्रमा लगाइएको धान बालीमध्ये ४५० हेक्टर जमिनको किसानको धान सबै सुकेर गएको पालिका प्रमुख साहले जानकारी दिँदै भने, “थप क्षति हुन नदिन कृषि विज्ञलाई ल्याएर रोग नियन्त्रणको उपाय खोजिरहेका छौँ ।” क्षति पुगेका किसानको तथ्याङ्क कर्मचारी खटाएर लिइरहेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह, कृषि क्याम्पस गौरादहका प्रमुख कृष्णहरि देवकोटा, बाली संरक्षण प्रयोगशाला विराटनगरको टोलीसहितले बुधबार गौरादहका रोग प्रकोप क्षेत्रका वडाका निरीक्षण गरेको छ ।