दुई महिनासम्म कोरोना संक्रमितहरु बढेर जाने :सीसीएमसी

काठमाडौं, १४ जेठ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)ले अझैं पनि दुई महिनासम्म कोरोना संक्रमितहरु बढेर जाने आँकलन गरेको छ ।

रोग नियन्त्रण महाशाखाका अधिकारीहरु र नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी सम्मिलित टोलीले कोरोना भाइरस संक्रमणको अन्तर्रा्ष्ट्रिय आधारलाई हेरेर आगामी जुन र जुलाईसम्म कोरोना संक्रमितहरु बढेर जाने आँकलन गरेको हो ।

कोभिड–१९ रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गाणितीय विश्लेशणबाट यस्तो आँकलन गरिएको र थप पूर्व तयारीका लागि सचेतता अपनाउन सन्देश दिएको सीसीएमसीले जानकारी गराएको छ ।

बुधबार नेपाली सेनाले आयोजना गरेको भिडियो कन्फेरेन्समा चीन, इटाली, स्पेनलगायतको अभ्यासबाट यस्तो आँकलन गरिएको जानकारी गराइएको छ । तर, यो शतप्रतिशत मिल्न नसक्ने पनि बताइएको छ ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सीसीएमसी–अप्सले कोरोना महामारीको समयमा विभिन्न मुलुकहरुमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारको लागि बनाएको कार्ययोजना पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *