कोरोनाभाइरसको संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु

लन्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।

बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो ।

ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका मृतक राई छोरा र छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए ।

कुनै गम्भीर समस्या नदेखिएका राईले पछिल्लो समयमा टाउको दुख्ने समस्याका कारण सिटामोलको सेवन गर्दै घरमा नै बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।

फोक्सोमा भएको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखिएको भएपनि उपचारकै क्रममा उनको निधन भएको अस्पतालबाट जानकारी गराइएको थियो । उनलाई कोरोनाको पुष्टि भएको जानकारी पनि अस्पतालबाट नै दिइएको थियो ।

हालसम्म बेलायतमा कोरोनाबाट ५२ जना नेपालीले ज्यान गुमाइसकेको एनआरएनए युकेले जनाएको छ । जसमा धेरैजसो भूपू गोर्खा सैनिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *