एक लाख घुससहित नुवाकोटका वन प्रमुख पक्राउ

बैशाख २७, २०७७ काठमाडौं / उद्धार गरेर ल्याएको घोरल कार्यालबाटै हराएको दुई दिनमै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद यादव एक लाख घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट गएको टोलीले कार्यालयबाटै एक लाख रुपैयाँ घुससहित शनिबार पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सार्वजनिक बिदाको दिन पनि कार्यालयमै सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरिएको जानकारी दिए। ’काठमाडौंबाटै गएको अख्तियारको टोलीले पक्राउ गरेको हो’, उनले भनेका छन्, ’उनलाई काठमाडौं ल्याइँदैछ। यहाँ ल्याएपछि विस्तृत जानकारी लिन्छौं।’
यसअघि यही बुधबार पञ्चकन्या गाउँपालिकास्थित भद्रुटारमा घाइते अवस्थामा अलपत्र घोरल उद्धार गरेर वन कार्यालयमा ल्याएपछि गायब भएको थियो। उक्त घोरल वन कार्यालयकै कर्मचारीले काटेर खाएको आरोप लागेको थियो। हिमाली बाख्रोको भनिने घोरल बुधबार राति सवा नौ बजे फलामको खोरको डन्डा भाँचेर भागेको भन्दै वन कार्यालयले विज्ञप्ति नै निकालेको थियो।
