फुङलिङ आगलागी: ८ घर जले,३७ परिवार विस्थापित

ताप्लेजुङ — फुङलिङ नगरपालिका ५ माथिल्लो बैंक लाइनमा आगलागीबाट ८ घर जलेका छन् । ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले शुक्रबार रातिको आगलागीबाट ७ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । यसमा संघसंस्थाको मात्रै १८ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट नेत्रबहादुर कार्की, खेमराज केसी, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराई, हस्तमाया लेछर्बो र रामकुमार शाहको घर जलेको हो । यी घरमा रहेका कांग्रेस जिल्ला कार्य समिति, जिल्ला फुटबल संघ, अलैंची व्यवसायी संघ, निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कार्यालय जलेका छन् । एउटा मनी ट्रान्सफरसहित इलेक्ट्रोनिक, स्टेसनरी, चिया पसल, ट्याक्सी काउन्टर, खाजा घर, तरकारी, मिठाई पसललगायत पनि जलेका छन् ।

भण्डारी खाजा घर नजिकैबाट आगलागी भए पनि कारण यकिन हुन नसकेको उद्योग वाणिज्य संघ ताप्लेजुङका उपाध्यक्ष दिनेश अधिकारीले बताए ।

फुङलिङ नगरपालिकाले आगलागी पीडितलाई शनिबार प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, तेललगायत सामग्री वितरण गरेको छ । रेडक्रस शाखाले त्रिपाल, कम्बल, भाँडा उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *