अपहरण गर्नेविरूद्ध दिएको किटानी जाहेरी सरकारी वकिल कार्यालयले लिन मानेन

जनता समाजवादी पार्टीका नेताहरूले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गर्नेविरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिन नमानेको बताएका छन्।

सांसद यादवलाई केही दिनअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए।

आफ्नो इच्छाविपरीत काठमाडौं ल्याएको भन्दै सांसद यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार जाहेरी निवेदन दिए पनि दर्ता भएको थिएन।

मंगलबार जनता समाजवादीका शीर्ष नेताहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतोसहित जाहेरी दर्ता गर्न सरकारी वकिल कार्यालय पुगे पनि दर्ता गर्न नमानेको उक्त पार्टीका नेता केशव झाले बताए।

‘हामी सरकारी वकिल कार्यालयमा जाहेरी लिएर गएका थियौं। छलफलका लागि समय चाहिन्छ भन्दै उहाँहरूले आलटाल गर्नुभयो,’ उनले भने, ‘दर्ता गर्न नमानेपछि हामी यहाँबाट निस्कियौं।’

उनका अनुसार अब डिआइजी कार्यालय वा सर्वोच्च अदालतबाट सत्तारूढ नेकपाका सांसदद्वय र पूर्वप्रहरी महानिरीक्षकविरूद्ध जाहेरी दिने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *