बेलायतमा कोभिड १९ परास्त गर्ने श्रीमान श्रीमती

अघिल्लो महिनाको शुक्रबार (२० मार्च) देखि मेरो र श्रीमति संजिता देउजा (आइसीयूमा कार्यरत नर्स) को ९ दिनको छुट्टी थियो । कोरोनाका कारण सोमबार देखि सरकारले लकडाउन गर्ने भनेकाले ‘मौकामा चौका’ हान्दै एक जना भाइकोमा म लगायत ५ जना साथीहरु बसेर दिउसो २ देखि ७ बजेसम्म मनोरन्जन गरियो, बीबीसीमा न्यूज हेर्दै बस्यौं । पछि २ जना साथीलाई मैले नै उनीहरुको घरसम्म लगेर छोडिदिएं ।

छोडेका साथीहरु मध्ये एकजनालाई मंगलबार देखि उच्च ज्वरो र खोकी लागेकाले करिब एक हप्ता पछि (बुधबार) उनलाई सास फेर्न गाह्रो भएर एम्बुलेन्सबाट अस्पताल लगिएछ । त्यो कुराको जानकारी मलाई उनी अस्पताल गएपछि मात्रै थाहा भयो ।

संजिताको स्वास्थ्यस्थिति केही शंकास्पद भएकाले २६ मार्चमा संजिता कोरोना टेष्टका लागि अस्पताल गइन् । हामीले सोसियल डिस्ट्यान्स मेन्टेन गर्दै थियौं । ४ जना ४ तिर भिन्दै कोठामा बस्थ्यौं, छोराहरु चाहिं दिनभरि संगै खेल्थे । उनको रिजल्ट नेगेटिभ भन्ने जानकारी आउनासाथ संजिता काममा जान तम्सिइन्् । तर मैले कमसेकम आज चाहिं ड्यूटी नजाउ, गएपनि भोलि (आइतबार) बाट मात्रै जाउ भनेर सुझाएं ।

मलाई भने त्यही दिन शनिबार (मार्च २९) दिउसोबाट हल्का ज्वरो आउन र जीउ दुख्न थालेकाले ६।६ घण्टाको फरकमा नियमित २ चक्की सिटामोल खांदै बसें । आइतबार दिनभरि ज्वरो घटेन, भोलिपल्ट सोमबारदेखि काममा जानु पर्ने स्थिति थियो । त्यसैले यहांको नन् 
इमर्जेन्सी सेवा (१११) मा कल गरेर सल्लाह लिएं, आफूमा देखिएको लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो भएकोले एक हप्तासम्म सेल्फ आइसोलेसनमा बस्न सुझाइयो।

अब मेरो दैनिकी बेडरुम र ट्वाइलेटमा मात्रै सिमित भयो । सोमबार बिहान ज्वरो केही कम त भयो तर जिउ हल्का दुखिरहेको थियो । दिउसो बेस्सरी तातो पानीमा नुहाएर बसें । त्यसपछि ज्वरो घट्यो । बेसार, अदुवा, जिरा मरिच आदि तातो पानी उमालेर मज्जासंग लिएं । सबै खानपिनको ब्यवस्था संजिताले गरिन् । दैनिक ३ लिटर जति तातोपानी खांदाखांदा जिब्रो को एक पत्र छाला नै गयो ।

यसैबीच नेपालबाट आफन्तहरुको सल्लाह सुझाव अनुसार लसुनको पोटी काटेर काखी मुनी र पैतालामा राखेर मोजा लगाएर सुतें, यो सब गरिदिने संजिताप्रति कृतज्ञ छु ।

मंगलबार ३१ मार्चका दिन अस्पतालमा कोरोना टेष्ट गर्न ३ बजे आफैंले गाडी चलाएर गएं, केहि बेरको प्रतिक्षामा १ मिनेट पनि नलगाई स्वाब लिए, “२।३ दिनपछि रिपोर्ट आउंछ, हामी नै जानकारी गराउने छौं“ भन्ने अस्पतालको जानकारीसहित घर फर्कें र सेल्फ आइसोलेसनमा बसिरहें ।
फर्केर आउंदा भाई प्रकाश थापाले कांचो बेसार कुटेर दूध वा पानीमा बिहान बेलुका पिउन सुझाए, उनैले हप्तादिनसम्म पुग्ने बेसार उपलब्ध गराइदिए ।

दिनहु साथीहरुसंग च्याटमा केहि नभए जस्तै गरि गफिन्थें, नेपालमा बुबा, भाईबैनीसंग बाक्लै च्याट हुन्थ्यो। बुबासंग कुरा गर्दा केहि नभए जस्तै गरि कुरा गरे पनि कोरोना हुन सक्ने सम्भावनाको बारेमा चाहिं भनेको थिएं । ‘भगवान नपुगेको ठाउं काहिं छैन्’ भन्नुहुन्थ्यो बुबा । उहां खासै डराउनु भएन, आमालाई चाहिं भनिन् । केही दिनअघि संगै मनोरञ्जन गरेको एक साथीलाई अस्पताल लगिएको भन्ने थाहा पाएपछि मनमा एक किसिमको त्रास बढ्न थाल्यो । तर, मलाई खासै च्यापेको थिएन् । यदि कोरोना नै लागेको हो भने पनि यत्ति सजिलै त मर्दिन होला भन्ने आत्मबल थियो ।

शुक्रवारतिर आउला भनेको रिजल्ट त बिहिबार बिहान ११ नबज्दै आयो (मोबाइलमा) । त्यतिबेला म अष्ट्रेलियामा भएका दुई साथीहरु (पेशाले दुबै जना नर्स) लक्ष्मी सापकोटा, भगवती लामिछाने, केन्यामा रहेको साथी आदेश त्रिपाठी र संजितासंग ग्रुप भिडियो च्याट गर्दै थियौं । यत्तिकैमा एउटा सन्देश आयो, मिस्टर कार्की दुःखको कुरा तिम्रो कोरोना भाइरस पोजिटिभ रिजल्ट आएको छ । यदि थप लक्षण भए ९९९ मा कल गर्नु नत्र केही दिनमा ठिक हुनुपर्छ ।

यो मेसेज सुनेपछि मेरो ४।५ दिनदेखिको आत्मबल त गरल्यामगुर्लुम ढल्यो । मेरो रुपरंगै बदलियो । केहि नभए झैं बोलिरहेको मेरो स्वर मधुरो भयो, भिडियो च्याटमा भएका साथीहरुले सहजै थाहा पाए कि गोरखको रिजल्ट पोजेटिभ आयो । फोन राखेपछि मनमा एक प्रकारको डर लाग्यो, मेरो जिउमा त कोरोना भाइरस भएको प्रमाणित भयो, मनमा धेरै कुरा खेले, त्यो कुरा यहां उल्लेख गरि साध्यै छैन् ।

‘अब २(३ दिन जति ज्वरो नआए र थप लक्षण नदेखिए यो पटकको कोरोना चाहिं पचाइयो“ भन्ने सोच्थें मनमनै । करिब ९ दिन जति मैले एउटै घरमा बसेर पनि दुई छोरा संयोग र 
संविदलाई देख्न पाइन । संजितालाई भने खाना कोठा नजिकै ल्याइदिंदा यदाकदा देख्थें।

मलाई कोरोना पोजेटिभको सूचनापछि शुक्रबार 
(अप्रिल ३) दिउसो संजिता २ छोराहरु सहित अस्पताल कोरोना टेष्ट गर्न गइन् । म भने ‘आइतबार सोमबारसम्म केहि नहोस् भगवान’ भन्दै बसिरहें, सदा झैं साथीहरुसंग नर्मल गफ गरिरहें ।

सोमबारसम्ममा थप कुनै लक्षण नदेखिएकाले बिहानै नुहाएर एक चक्कर लगाउन टाउन सेन्टर तिर गएं, हल्का थकान चैं लागिरह्यो ।

सोमबारदेखि नै संजितालाई ज्वरो र खोकी लाग्न थाल्यो, सोचें मबाट कोरोना उनीमा नि सरयो, अब म ठिक भएं, संजिता चाहिं ओछ्यान परिन् ।

यसैबीच अस्पताल भर्ना भएका संगै समय बिताएका साथीको स्वास्थ्यस्थितिमा एकदमै सुधार भयो भनि उनीबाटै जानकारी आयो । उनीसं
ग शुक्रबार च्याटमा कुरा गर्दा, ‘अब त बांचिएला जस्तो छ साथी’ भने । ‘मलाई त कोरोना टेस्टै गरेन, बरु निमोनिया चाहिं कन्फर्म गरयो’ भन्दै थिए। चाहे जे सुकै कारण होस्, साथी निको हुंदै गएकोमा धेरै खुशी लाग्यो ।

मंगलबार ७ अप्रिल सांझतिर संजिता र बाबुहरुको पनि कोरोना पोजेटिभ भन्ने जानकारी आएपछि छोराहरुको झन् बढि पिर लाग्न थाल्यो । त्यस कुराको जानकारी छोराहरुलाई दिन उचित लागेन तर उनीहरुलाई नजिकबाट नियाली चाहिं रहें । बाबुहरुलाई खासै लक्षण त देखा परेन तर पनि मन न हो के के सोच्यो सोच्यो ।

सकेसम्म छोराहरुलाई खाना पनि छुट्टै राखेर खुवाएं, उनीहरु दिन भरि कोठामा र बाहिर को सानो गार्डेनमा उफ्रन्थे, राती चैं भिन्दाभिन्दै कोठामा सुत्थे । हामी ४ जना ४ वटा छुट्टाछुट्टै कोठामा बस्यौं ।

संजितालाई करिब ३ दिन जति बेस्सरी ज्वरो आयो, खोकी पनि बाक्लै लागिरह्यो । लसुन बीचमा काटेर पैतालामा राखी मोजा लगाएर सुते ज्वरो घट्छ भन्ने नेपालबाट आफन्तले भने बमोजिम गरियो, शुक्रबारदेखि उनलाई ‘धेरै ठिक’ भएको छ । यो लसुनले काम गरयो वा अरु कारणबाट भयो, त्यो भगवानले जानुन्।

सेल्फ आइसोलेसनमा रहंदा मोबाइलमा इन्द्रेणी र टिका सानुको धेरै दोहोरीहरु हेर्दै दिन बिताएं, नेपाली फिल्महरु हेरियो, स्कुल कलेजका साथी र अन्य संग दैनिक जस्तै च्याट गर्दै बसियो ।

म कोरोना संक्रमित भइ आइसोलेसनमा बसेको बेलामा अत्यावश्यक दुध, तरकारी, फलफूल खरिद गरि, तातो सुप बनाई ढोकासम्म ल्याइदिनुहुने छिमेकी बन्धु सन्तोष कार्की, ‘केहि परयो भने म छु है दाई’ भन्ने भाई प्रकाश थापा, ‘रातको १२ बजे पनि तपाईंको लागि तयार छु है’ भन्नुहुने साथी धनबहादुर क्षेत्री, दैनिक जसो फोन गरेर हौसला दिनुहुने मित्र भरतराज लामिछाने, दाई डा. तेजेन्द्र फेराली, दाई जोग आले, अन्य धेरै आफन्तजन, साथीभाइहरु लगायत हाम्रो डार्टफोर्ड नेपाली समाजका पदाधिकारीज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । सुखमा त जसले नि सहयोग गर्छन्, दुःख र आपतमा गरेको यो सहयोग अमूल्य रहनेछ ।

म ‘सेल्फ आइसोलेसन’ मा बसेको बेला दिनमा थुप्रै पटक घन्टौंसम्म ग्रुप च्याटमा रहेका स्कुले साथीहरु, भिडियो च्याटमा मनोबल उच्च पार्न र स्वास्थ्य सम्बन्धि ‘टिप्स्’ दिनुहुने आत्मीय साथी डा. ओम गौतम, केन्यामा रहने साथी आदेश त्रिपाठी, अष्ट्रेलियामा रहेका कलेज पढ्दाका साथीहरु लक्ष्मी सापकोटा र भगवती लामिछानेप्रति विशेष धन्यवाद दिन चाहन्छु ।

म लगभग ठिक भइसकेकोले यसै हप्तादेखि (गत मंगलबार) काममा जान थालेको छु । हल्का खोकी बाहेक अन्य कुनै लक्षण छैन् । काममा मास्कको प्रयोग गरिन्छ ।

बेलायतमा दिनहुं जसो हजारौंको संख्यामा संक्रमित थपिंदै र सयौंको संख्यामा मर्ने क्रम जारी छ । न्यूज च्यानल हेर्दा दिक्कै लाग्छ ।

बेलायतमा धेरै नेपाली कोरोना संक्रमित छन् । कतिले कोरानालाई जिते, कतिलाई कोरोनाले जित्यो । मलाई र हाम्रो परिवारलाई कोरोनाले खासै ठूलो दुःख दिएन, यो पटकको कोरोनाबाट बचियो । यस्तो प्राणघातक भाइरस कोही कसैलाई पनि नलागोस् । सबै मानवजातिको जय होस् ।

–गोरख कार्की,
हाल बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *